राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २० भाद्र, २०८२
२०८२ भदौ २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय किमिटी दुई सय ५१ सदस्यीय हुने भएको छ । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा तीन सय एक सदस्यीय कमिटीलाई घटाएर दुई सय ५१ कायम गरिएको छ ।
उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको संशोधन प्रस्तावमा १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको सङ्ख्या दुई सय ५१ को हुने व्यवस्थालाई अघि सारिएको छ । प्रस्तावित संशोधन विधानलाई यसअघि केन्द्रीय कमिटीले पारित गरिसकेको छ ।
विधानको धारा १६ (२) मा तीन सय एकको केन्द्रीय कमिटीलाई संशोधन गर्दै १५ सदस्यीय पदाधिकारीसहित दुई सय ५१ को केन्द्रीय कमिटी हुने प्रस्ताव उपाध्यक्ष पौडेलले गरेका छन् । प्रस्तावमा वरिष्ठ उपाध्यक्षको व्यवस्थालाई हटाइएको छभने छ उपाध्यक्षको सङ्ख्यालाई घटाएर तीनमा झारिएको छ। प्रस्तावअनुसार अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सातसतिह १५ जना पदाधिकारी रहनेगरी प्रस्ताव गरिएको छ । पदाधिकारीमा महिला एकजना अनिवार्य गरिएको छ ।
स्थायी कमिटी र पोलिटब्यूरो सदस्यको सङ्ख्या पनि घटाइएको छ । धारा १७ (२) को ४५ सदस्यीय स्थायी कमिटीलाई घटाएर पार्टीका १५ जना पदाधिकारीलाई मात्र स्थायी कमिटीका रूपमा राख्ने प्रस्ताव गरिएको छभने ९९ सदस्यीय पोलिटब्यूरोको सङ्ख्या घटाएर बढीमा एकतिहाइ रहनेगरी निर्वाचनमार्फत पोलिटव्यूरोको पूर्ति निर्वाचन प्रक्रियाबाट गरिने प्रस्ताव गरिएको छ ।
कमिटीमा उम्मेदवार हुन पार्टीको स्कूल विभागले आयोजना गर्ने प्रशिक्षण अनिवार्य गरिएको छ । तर हाल विद्यमान कमिटीमा रहेका उम्मेदवारका लागि भने छुट दिइनेछ। साथै, ७० वर्ष उमेर सीमा हटाउने प्रस्ताव गरिएको छ। यसअघि विधानमा रहेको प्रावधानलाई २०८० वैशाखमा केन्द्रीय कमिटीले नै निस्क्रिय बनाएको थियो ।
प्रदेश, जिल्ला र तल्लो संरचनाको बैठक समयसीमा पनि तोकिएको छ । केन्द्रीय कमिटीको बैठक ६ महिनामा, प्रदेश कमिटीको ४ महिनामा, जिल्ला कमिटीको ३ महिनामा, पालिकाको २ महिनामा र वडा कमिटीको बैठक महिनामा एकपटक बस्ने व्यवस्था प्रस्तावमा समावेश छ ।
पूर्णपाठ