राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २४ श्रावण, २०८२
२०८२ साउन २३, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य माननीय एकालाल श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । संसदीय दलका नेता जगन्नाथ थपलियाको निर्णयअनुसार श्रेष्ठलाई साउन २० गतेको निर्णयका आधारमा प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।
उक्त नियुक्ति एमाले संसदीय दलको विधान, २०७७ को दफा १३ बमोजिम गरिएको हो । बिहीबार हेटौंडामा रहेको संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा नेता थपलियाले श्रेष्ठलाई औपचारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।
मकवानपुर क्षेत्र नं. १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रहेका श्रेष्ठ यसअघि बागमती प्रदेश सरकारमा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका अनुभवी नेता हुन् ।
पार्टी संगठनमा लामो समयदेखि सक्रिय श्रेष्ठलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिइएसँगै एमालेले प्रदेशसभामा आफ्नो भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।