शनिबार, २० भाद्र, २०८३

अविरल वर्षा र पहिरोले देशका यी राजमार्ग अवरुद्ध

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

अविरल वर्षा र पहिरोले देशका यी राजमार्ग अवरुद्ध

२०८३ भदौ २० काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका हुन् । 

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू र त्रिशूली-स्याफ्रुबेशी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा ठप्प भएका छन् । 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भिरमा ठूलो पहिरो खसेका कारण यातायात पूर्ण रूपमा बन्द भएको छ भने सोही राजमार्गको परेवा भिरमा साना गाडी मात्र एक लेनमा सञ्चालन भइरहेका छन् ।

म्याग्दीको बेनी-जोमसोम सडक खण्ड, मुगुको मुगु-गमगढी सडक, बझाङको जय पृथ्वी राजमार्ग र अर्घाखाँचीको सालझण्डी-ढोरपाटन खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। 

रोल्पाको शहीद मार्ग अन्तर्गत दुईखोली र भालखोर क्षेत्रमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन्। काठमाडौँ-धादिङ जोड्ने चन्द्रागिरी चिसापानी क्षेत्रमा सडक एकतर्फी मात्र सुचारु छ भने बीपी राजमार्गको खुर्कोट-नेपालथोक खण्डमा १० टनसम्मका सवारीलाई निश्चित समय तोकेर मात्र अनुमति दिइएको छ।

नुवाकोटको टोखा-छहरे सडकमा रातिको समयमा यात्रामा रोक लगाइएको छ भने बाढीले गर्दा बेत्रावतीस्थित पासाङ ल्हामु सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ। 

advertisement_1676998982.gif