शुक्रबार, १९ भाद्र, २०८३

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन

२०८३ भदौ १९ काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा ललितपुरको पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखद्वारा हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा छ ।

राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा सांसद जगदिश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायत जनप्रतिनिधि तथा मन्दिरका पुजारीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपति कृष्ण मन्दिर पुग्दा ललितपुर क्षेत्र नं २ का सांसद एवं पूर्वमन्त्री जगदीश खरेल, बागमती प्रदेशका कार्यवाहक सभामुख अप्सरा चापागाईँ, पूर्वमन्त्री मदुसुधन पौडेल, प्रेमभक्त महर्जन, प्रदेश सभासद रघुनाथ महर्जनसमेत उपस्थित भएर स्वागत गरेका थिए ।

राजा सिद्धिनरसिंह मल्लको पालामा १७औँ शताब्दीमा निर्माण भएको पाटनको कृष्ण मन्दिरमा मल्लकालदेखि नै कृष्ण जन्माष्टमीमा राष्ट्राध्यक्षबाट विशेष पूजा आराधना हुँदै आएको धार्मिक, सांस्कृतिक परम्परा छ । राजतन्त्र रहँदा राजा र राजपरिवारले कृष्ण जन्माष्टमीमा मन्दिर दर्शन गर्ने चलन थियो । विसं २०६५ मा गणतन्त्र स्थापना भएपछि राष्ट्रप्रमुखको भूमिकामा राष्ट्रपतिले उक्त परम्परालाई निरन्तरता दिने कार्य हुँदै आएको छ ।

advertisement_1676553908.gif