राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ भदौ १९ काठमाडौं । भोटेकोशी नदीमा आएको भिषण बाढीपछिको संकटग्रस्त क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ । उद्धार टोलीले अहिलेसम्म बाढी प्रभावित क्षेत्रबाट ३ हजार २ सयभन्दा बढी नेपाली र २७० जना विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारेको छ। सेनाका अनुसार बाढीका कारण मुख्यगरी जोखिममा परेका सातवटा विभिन्न सुरुङहरूलाई केन्द्रित गरेर खोजी तथा उद्धार अभियान निरन्तर सञ्चालन भइरहेको छ ।
सुरुङभित्र थुनिएकाहरूको खोजी गर्ने क्रममा टोलीले शुक्रबार त्रिशूली ‘थ्री ए’ को सुरुङबाट सञ्जय साह र कबीर महर्जनलाई जीवितै उद्धार गर्न सफल भएको छ। यस्तै, ‘थ्री बी’ सुरुङमा उद्धारकर्मीहरू करिब ३ मिटरभित्र प्रवेश गरी विभिन्न स्थानमा प्वाल पारेर खोजीमा जुटेका छन् ।
अपर त्रिशूली–१ को सुरुङभित्र उद्धार टोली करिब २०० मिटरसम्म प्रवेश गरिसकेको छ भने रसुवागढी क्षेत्रका सुरुङहरूमा पनि खोजी कार्य जारी छ । नेपाली सेनाले प्रभावित क्षेत्रमा नागरिकको जीवन रक्षालाई नै आफ्नो पहिलो र मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।