सोमबार, २२ भाद्र, २०८३

भोटेकोशी बाढीको १३औं दिन: राष्ट्रिय शोकमा देश, झण्डा आधा झुकाइने

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

भोटेकोशी बाढीको १३औं दिन: राष्ट्रिय शोकमा देश, झण्डा आधा झुकाइने

२०८३ भदौ २२ काठमाडौं । सरकारले गत भदौ १० गते भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३ औं दिनको पुण्यतिथिका दिन आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ ।

बाढीले पुर्‍याएको अपूरणीय क्षतिका कारण आज पनि हजारौँ नागरिक आफन्तको खोजी र प्रतीक्षामा छन् भने सयौँ परिवार घरबारविहीन भई अस्थायी आश्रयस्थलमा बस्न बाध्य छन् । यो दिन मृतकप्रति सम्मान व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने र प्रभावितको पुनर्स्थापना गर्ने राष्ट्रिय संकल्पको घडी पनि हो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ। बाढीका कारण हालसम्म १ हजार ३४२ जनाको मानवीय क्षति भएको विवरण प्राप्त भए पनि ९८ जनाको मात्रै सनाखत भई परिवारले शव बुझेका छन् ।

अझै पनि ४ हजार १९६ जना नागरिक सम्पर्कविहीन रहेका छन्, जसमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, कर्मचारी र विदेशी नागरिकसमेत समावेश छन् । जिल्लागत विवरण अनुसार रसुवाबाट करिब १ हजार ८५७ र नुवाकोटबाट करिब २ हजार ३४० जना नेपाली नागरिक बेपत्ता छन् ।

यसका साथै करिब १०० जना सुरक्षाकर्मी तथा कर्मचारी र ५९९ जना विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। भोटेकोशीले भत्काएका संरचना र पुर्‍याएको गहिरो चोटका कारण प्रभावित क्षेत्रको जनजीवन सामान्य अवस्थामा फर्किन अझै लामो समय लाग्ने देखिएको छ ।

advertisement_1676551646.gif