राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८३ कार्तिक २९ मुगु । मुगुको टोप्लामा रारा तालतर्फ जाँदै गरेको ताल्चा रारा कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको हाईलक्स जिप दुर्घटना हुँदा ३ जना मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा काठमाडौं, कलंकी बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी, र काठमाडौ बस्ने ५० वर्षीय पूर्णकुमार थापा रहेको प्रहरीले जनाएको छ । घाइते तिनै जनालाई जिल्ला अस्पताल मुगु पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
त्यस्तै घाइते हुनेहरूमा , ललितपुर महानगरपालिका–१५ बस्ने ५४ वर्षीया अन्जु थापा र ५८ वर्षीय कञ्चन थापा रहेकी छिन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पठाएको थियो ।
रारा कच्ची सडक खण्डमा बा १७ च १८६४ नम्बरको हाईलक्स गाडी अचानक सडकबाट अन्दाजी ६०० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक रविराज थपलियाको कमान्डमा १० जना र बी.सु. गार्ड ताल्चाबाट प्रहरी नायव निरीक्षक डम्बरबहादुर अधिकारीको कमान्डमा ७ जना गरी १७ जनाको प्रहरी टोली खटिएको थियो ।
उक्त गाडीमा चालकसहित ५ जना सवार रहेको बुझिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । साथै चालकले मादक पदार्थ सेवन गरे/नगरेको र दुर्घटनासम्बन्धी अन्य विवरण खुल्न बाँकी रहेको छ ।