शनिबार, १६ श्रावण, २०८३

मधेशका ११ केन्द्रमा त्रिविको एमबीएस परीक्षा स्थगित

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

मधेशका ११ केन्द्रमा त्रिविको एमबीएस परीक्षा स्थगित

२०८३ साउन १५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ । 

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातकोत्तर तहको ‘मास्टर अफ बिजनेस स्टडिज’ कार्यक्रमअन्तर्गत साउन १५ गते सञ्चालन हुने भनिएको ‘बजार व्यवस्थापन’ विषयको परीक्षा स्थगित गरेको जनाएको छ ।

परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुरद्वारा जारी सूचना अनुसार विशेष परिस्थितिका कारण केही निश्चित परीक्षा केन्द्रहरूमा मात्र अर्को सूचना नआएसम्मका लागि उक्त विषयको परीक्षा स्थगित गरिएको हो ।

कार्यालयले एक सूचना जारी गर्दै स्थगित गरिएको परीक्षाको नयाँ मिति पछि प्रकाशन गरिने जनाएको छ । साथै, उक्त विषयबाहेक अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने सूचनामा उल्लेख छ ।

त्रिविका अनुसार रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाही क्याम्पस मलंगवा, जनज्योती बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिरहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन् ।

त्‍यस्‍तै महेन्द्र विन्देश्वरी बहुमती क्याम्पस राजविराज सप्तरी, नेशनल पिपुल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर रौतहट, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, सिमरा कलेज बारा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज केन्द्रका परीक्षा पनि स्थगित भएका छन् ।

advertisement_1676553851.gif