राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८३ भदौ २८ काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौँ जिल्ला अधिवेशनबाट दीपक केसी अध्यक्ष पदमा निर्वाचित भएका छन्। प्रतिस्पर्धात्मक चुनावी प्रक्रियाबाट केसीले ३९० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी ऋद्धिप्रताप राणाले २२० मत प्राप्त गरे भने अर्का प्रत्याशी प्रमोद पौडेल ३४ मत ल्याएर तेस्रो स्थानमा रहे।
नवनिर्वाचित अध्यक्ष केसी राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका पूर्वसंयोजक हुन्। उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देननिकट नेताका रूपमा हेरिन्छ। यस्तै, प्रतिस्पर्धामा उत्रिएका नेता ज्ञानेन्द्र शाहीनिकट मानिने पौडेलले ३४ मत मात्र प्राप्त गर्न सके। देशको राजधानी रहेको काठमाडौँमा अधिवेशन सम्पन्न भएसँगै राप्रपाको हालसम्म जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाहरूको सङ्ख्या ५४ पुगेको छ।