बुधबार, २१ आश्विन, २०८३

दशैँमा घर फर्किने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

दशैँमा घर फर्किने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

२०८३ असोज २० काठमाडौँ  ।यस वर्षको बडादशैँमा घर जाने यात्रुको चापलाई ध्यानमा राख्दै आउँदो असोज २३ गते (शुक्रवार) देखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।

यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच आज भएको छलफलपछि यात्रुको यात्रालाई व्यवस्थित र सहज बनाउन अग्रिम बुकिङ खुलाउने निर्णय गरिएको हो । विभागका महानिर्देशक राजीव पोखरेल र महासङ्घका अध्यक्ष सरोज सिटौलाका अनुसार दशैँको समयमा काठमाडौँ उपत्यका छाडेर आफ्ना गृहनगर फर्किने झन्डै ९ देखि १० लाख यात्रुलाई लक्षित गर्दै यो व्यवस्था लागू गर्न लागिएको हो ।

यात्रुलाई बिना झन्झट गन्तव्यसम्म पुग्न सघाउन सरकारले चाडपर्वभर देशव्यापी रूपमा ‘रुट परमिट’ समेत खुला गर्ने भएको छ । घटस्थापनादेखि पूर्णिमासम्म लागू हुने यो निर्णयले काठमाडौँबाट पूर्व, मध्य र पश्चिम नेपालका विभिन्न जिल्लामा जाने सवारी साधनहरूलाई बिना कुनै अनुमतिपत्र सहजै आवागमन गर्न बाटो खोल्नेछ। यसबाट यात्रुले सवारी साधन अभावको सामना गर्नुपर्ने समस्यामा कमी आउने विश्वास लिइएको छ ।

त्यस्तै, चाडपर्वका बेला हुन सक्ने सवारी जाम र सम्भावित दुर्घटना न्यूनीकरणका लागि विशेष सुरक्षा तथा ट्राफिक व्यवस्थापनको तयारी गरिएको छ । सडक सुरक्षालाई प्राथमिकता दिँदै घटस्थापनादेखि पूर्णिमासम्म नारायणगढ–मुग्लिन सडक खण्डमा खाद्यान्न र अत्यावश्यक सामग्री बोकेका बाहेक अन्य ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ । साथै मुख्य राजमार्गका बिग्रेका सडक खण्ड मर्मतसम्भार गर्ने र नाकाहरूमा ट्राफिक परिचालन थप चुस्त बनाउने तयारी अन्तिम चरणमा पुगेको सम्बन्धित निकायले जनाएका छन् ।

advertisement_1676551694.gif