राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ भदौ ११ काठमाडौँ । अमेरिकाले रसुवामा आएको बाढीबाट प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयले बाढीमा ज्यान गुमाएकाका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै विपद् प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ । मन्त्रालयले विपद् प्रतिकार्यमा सहयोग गर्न एक जना विपद् प्रतिकार्य सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउन लागेको जनाएको छ ।
अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहकार्यअन्तर्गत उक्त रकम उपलब्ध गराउने भएको हो । सहयोगबाट बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहायता उपलब्ध गराइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी दूतावास काठमाडौंले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ ।