सोमबार, २६ आश्विन, २०८३

बूढीगण्डकी बाढी : ९५ जनाको उद्धार, विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

बूढीगण्डकी बाढी : ९५ जनाको उद्धार, विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो

२०८३ असोज २५ काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङ नजिकै गेग्रान बहावले स्यारखोला थुनिएर फुट्दा बुढीगण्डकी नदीमा लेदोसहितको ठूलो बाढी आएको छ । बाढीमा परी चुम्चेतको उङ्गिलुङका दुई महिलासहित पाँच जना बेपत्ता भएका छन् ।

प्रभावित क्षेत्रबाट नौ जना विदेशी नागरिकसहित ८२ जनालाई नेपाली सेनाका चार वटा हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

बाढीले दुई वटा पक्की पुल, दुई वटा झोलुङ्गे पुल, तीन वटा जलविद्युत् आयोजना, चार वटा हवन कुण्ड, ४५ वटा घर पूर्ण र २७ वटा घर आंशिक रूपमा क्षति पुर्‍याएको छ। यस्तै, ३४ वटा गोठमा पनि क्षति पुगेको छ ।

बाढीको कारण पत्ता लगाउन ड्रोन र भूगर्भविद्सहितको तीन सदस्यीय टोली परिचालन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ७०३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच, गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा तीन जिल्लाका अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको छ ।

advertisement_1676551694.gif