आईतवार, २५ आश्विन, २०८३

पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैन : ओली

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैन : ओली

२०८३ असोज २५ काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रकियाअनुसार हुँदै जाने बताएका छन् ।

पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पुस्तान्तरणका लागी निश्चित विधि, प्रक्रिया र योग्यता आवश्यक पर्ने बताएका हुन् ।

उनले नयाँ पुस्तालाई तालिम, क्षमता विकासमार्फत क्रमशः नेतृत्वका लागि तयार गनुपर्ने बताए । तर अहिले समाजमा पुस्तान्तरणको नाममा विभाजन गर्ने प्रयास भइरहेको उनको आरोप छ ।

उनले समाजमा जात, धर्म र भूगोलका आधारमा विभाजन गर्न नसकेर हाल बाबु–छोरा तथा हजुरबा–नातिबीच पुस्तागत द्वन्द्व सिर्जना गर्न खोजिएको बताए । नयाँ पुस्ताले पुरानो पुस्तालाई तत्काल जिम्मेवारी छाड्न दबाब दिनु अनुचित भएको उनको दाबी छ ।

उनले प्राध्यापक बन्नका लागि लेक्चररबाट सुरु गर्नुपर्ने बताए । नयाँ पुस्तालाई योग्य, दक्ष र सक्षम बनाएर क्रमशः जिम्मेवारी दिँदै लैजाने उल्लेख गर्दै उनले नेतृत्व हस्तान्तरणका लागि आवश्यक तयारी र अनुभव हासिल गर्न समय लाग्ने बताए ।

आफ्नो राजनीतिक जीवनको सुरुवाती समय स्मरण गर्दै उनले आफूहरू सानै उमेरमा नेतृत्व तहमा पुगेको बताए । तर तत्कालीन नेतृत्वको उमेरलाई अहिलेको पुस्तासँग सिधै तुलना गर्न नमिल्ने उनको जिकिर छ । अहिले १९ वर्षको मान्छेले पार्टी प्रमुख हुनुपर्छ भन्यो भने हास्यास्पद हुने उनको भनाइ छ ।

उनले कुनै व्यक्तिले जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्था आएपछि नेतृत्वबाट आफै हट्ने बताए । हाल पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उनले पुस्तान्तरण लगायतका अनेक झमेलामा नपर्न सम्पूर्ण कार्यकर्तालाई आग्रह गरे ।

उनले देशलाई एमालेले नै सही बाटोमा लैजाने बताए । एउटा निर्वाचन हार्दैमा एमाले कमजोर नहुने उनको भनाइ छ । उनले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जागरण अभियानमा पनि आग्रह गरे ।

advertisement_1676553908.gif