बुधबार, ३ मंसिर, २०८३

एनपीएल: आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्‍पर्धा हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

एनपीएल: आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्‍पर्धा हुँदै

२०८३ मंसिर ०१ काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज (मंगलबार) पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्‍पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे (फ्लडलाइटमा) सुरु हुने यस खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ ।

लिग चरणका शीर्ष दुई टोलीबीचको यो भिडन्त दुवैका लागि पहिलो प्रयासमै उपाधि नजिक पुग्ने महत्त्वपूर्ण अवसर हो । आज पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्ने अर्को मौका पाउनेछ ।

तथ्यांक र हालको लयका आधारमा लुम्बिनी लायन्स मनोवैज्ञानिक रूपमा बलियो देखिएको छ । सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्दै ‘ह्याट्रिक’ पूरा गर्ने अवसर लुम्बिनीसामु छ ।

यसअघि दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै पराजित गर्दै उपाधि उचालेको लुम्बिनीले जारी तेस्रो संस्करणको लिग चरणको भेटमा पनि सुदूरपश्चिममाथि ७ विकेटको सहज जित निकालेको थियो ।

रोचक पक्ष के छ भने, ती दुवै महत्त्वपूर्ण खेलमा लुम्बिनीको धारिलो बलिङ आक्रमणसामु सुदूरपश्चिम १०० रनको आँकडासमेत पार गर्न नसकी अलआउट भएको थियो । तसर्थ, सुदूरपश्चिम रोयल्स आज विगतका ती नमीठा हारको बदला लिँदै सिधै फाइनल पुग्ने रणनीतिमा मैदान उत्रनेछ ।

लिग चरणको प्रदर्शन र अंक तालिका

लिग चरणमा दुवै टोलीले समान ५-५ खेलमा जित हात पारेका थिए । यद्यपि, सुदूरपश्चिम २ खेलमा पराजित हुँदा लुम्बिनीले १ खेलमा मात्र हार बेहोरेको थियो । वर्षाले एक खेल रद्द भएपछि अंक बाँड्दा लुम्बिनीले सुदूरपश्चिमभन्दा १ अंक बढी जोड्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो ।

दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको बाहुल्यता रहेकाले कीर्तिपुर मैदानमा आजको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

advertisement_1676551537.gif