शनिबार, २७ असार, २०८३

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत भोलि दुई महत्वपूर्ण क्वार्टरफाइनल खेलहरू हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत भोलि दुई महत्वपूर्ण क्वार्टरफाइनल खेलहरू हुँदै

२०८३ असार २७, काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत भोलि दुई महत्वपूर्ण क्वार्टरफाइनल खेलहरू हुँदैछन्, जहाँ सेमिफाइनल यात्राका लागि चार टोली आमनेसामने हुनेछन् । भोलि बिहान  नेपाली समय अनुसार पौने ३ बजे हुने पहिलो खेलमा नर्वे र इंग्ल्यान्ड भिड्दैछन् ।

इतिहासमा पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वेका लागि यो खेल ऐतिहासिक हुनेछ भने इंग्ल्यान्ड लगातार तेस्रोपल्ट क्वार्टरफाइनल खेल्दै बलियो दाबेदारका रूपमा प्रस्तुत हुँदैछ । यो खेलमा यस विश्वकपमा सात गोल गरिसकेका नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड तथा लयमा रहेका इंग्ल्यान्डका कप्तान ह्यारी केन र जुड बेलिङ्घमबीचको भिडन्त मुख्य आकर्षण बन्ने देखिन्छ।

त्यस्तै, भोलि नै बिहान पौने ७ बजे हुने अर्को प्रतिस्पर्धामा साबिक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा स्थान सुरक्षित गर्न स्विट्जरल्यान्डको सामना गर्नेछ ।

यसैबीच, प्रतियोगिताको सेमिफाइनल समीकरण पनि क्रमशः तय हुन थालेको छ।गए राति सम्पन्न निकै रोमान्चक क्वार्टरफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

अब स्पेनले फाइनल प्रवेशका लागि साविक उपविजेता फ्रान्सको सामना गर्नेछ । यसअघि भएको पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरिसकेको छ ।

advertisement_1680627706.gif