बुधबार, २६ कार्तिक, २०८३

आज भाइटीका सप्तरंगी टीका लगाएर मनाउँदै, टीकाको उत्तम साइत बिहान ११ः०७ बजे

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

आज भाइटीका सप्तरंगी टीका लगाएर मनाउँदै, टीकाको उत्तम साइत बिहान ११ः०७ बजे

२०८३ कार्तिक २५ काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । यस पर्वलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा छ । दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए । उनका अनुसार आज दिनभर टीका लगाउन कुनै बाधा छैन । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन् ।

आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन् । त्यसअघि चन्द्रमा तुला राशिमा रहनेछन् । तुला राशिमा चन्द्रमा रहेका बेला पनि यही दिशाअनुसार टीका लगाउन सकिने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको उनको भनाइ छ ।

भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन् । त्यसपछि मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामका साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा गणपत्यादि वनस्पत्यन्त देवताको पूजा आराधना गरिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्‍याउने चलन छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्ने धार्मिक तथा सामाजिक परम्परा छ ।

advertisement_1676998982.gif