राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ जेष्ठ २७, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू र देशको बजेटका विरुद्ध संगठित रूपमा अफवाह फैलाएर बदनाम गर्ने प्रयास भइरहेको गुनासो गरेका छन् ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बजेटका विषयमा आयोजित छलफलमा भाग लिँदै उनले यस्तो दाबी गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दलहरूले प्रतिनिधि सभामा लगातार अवरोध सिर्जना गरिरहेका बेला अर्थमन्त्री वाग्लेले संसदीय समिति मार्फत आफ्ना कुराहरू सार्वजनिक गरेका हुन् ।
बजेटमाथि खुला र गहन छलफल हुनुपर्ने संसद्लाई बन्धक बनाएर बाहिर भने आफू विरुद्ध चौतर्फी र योजनाबद्ध रूपमा गलत प्रचार गरिएको उनको भनाइ थियो ।
उनले संसद् अवरुद्ध भएका कारण आफूले जनताका प्रतिनिधिहरू माझ सत्यतथ्य राख्ने मौका नपाएकाले नै स्पष्टीकरण दिन र जवाफ बोकेर संसदीय समितिमा उपस्थित भएको प्रष्ट पारे ।