राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ भदौ २१ काठमाडौं ।पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ।
नेपाल आयल निगम लिमिटेडका अनुसार काठमाडौँका विभिन्न उद्योगका खाली ग्यास सिलिन्डरहरू तराईका जिल्लाहरूमा पुर्याई रिफिल गरेर पुनः काठमाडौँ भित्र्याई बिक्री वितरण भइरहेको छ। आपूर्ति सहज बनाउन निगमले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी जिल्लामा सञ्चालित १६ वटा ग्यास उद्योगहरू प्रयोग गरिरहेको छ। यसै क्रममा भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ गरी तीन दिनको अवधिमा कुल ८७ हजार ८७७ सिलिन्डर रिफिल गरी काठमाडौँ ल्याइसकिएको छ।
उपत्यकामा श्री ग्यास, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्ते लगायतका ब्रान्डका ग्यासहरू बिक्रीकालागि उपलब्ध गराइएको छ। पृथ्वीराजमार्गको कृष्णभिर खण्ड पूर्ण रूपमा मर्मत भई नियमित यातायात सञ्चालनमा नआउञ्जेलसम्म उपत्यकामा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न यसरी नै वैकल्पिक प्रक्रियाबाट ग्यास भित्र्याउने कार्यलाई निरन्तरता दिइने निगमले जनाएको छ।