मंगलवार, १९ जेष्ठ, २०८३

रास्वपा सभापति रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

रास्वपा सभापति रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता

२०८३ जेष्ठ १९, नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको छ ।

नयाँ दिल्लीस्थित गृहमन्त्रालयमा भएको उक्त भेटघाटमा दुई देशबीचको आपसी हित, सीमा सुरक्षा, तथा कूटनीतिक सम्बन्धका विविध आयामबारे महत्त्वपूर्ण छलफल भएको जनाइएको छ।

भारतीय विदेशमन्त्री एस. जयशंकर र विदेशसचिव विक्रम मिस्रीसँगको उच्चस्तरीय संवादलगत्तै सभापति लामिछानेले भारतीय राजनीतिको शक्तिशाली मानिने गृहमन्त्री शाहसँग भेट गरेका हुन् ।

भेटवार्ताका क्रममा नेपाल र भारतबीचको खुला सीमानाका कारण सिर्जना हुनसक्ने सुरक्षा चुनौती, अन्तर्देशीय अपराध नियन्त्रण र द्विपक्षीय सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको बताइएकाे छ ।

रास्वपा प्रतिनिधिमण्डलसँगको कुराकानीमा भारतीय गृहमन्त्री शाहले नेपालको स्थायित्व र विकासमा भारत सधैं सकारात्मक रहेको उल्लेख गर्दै सीमा सुरक्षा र सुरक्षा चासोका मामिलामा दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

सभापति लामिछानेले नेपाल र भारतबीचको परम्परागत तथा जनस्तरको सम्बन्धलाई आधुनिक आवश्यकता अनुसार अझ प्रगाढ बनाउनुपर्ने धारणा राखेका थिए। नयाँ राजनीतिक दलको रूपमा रास्वपाले नेपालको समृद्धिका लागि छिमेकी मुलुकहरूसँग सन्तुलित र रचनात्मक सम्बन्ध राख्न चाहेको सन्देश उहाँले भारतीय पक्षलाई दिएका छन् ।

प्रतिनिधिमण्डलमा सहभागी रास्वपाका अन्य नेताहरूले पनि दुई देशबीचका थाती रहेका कूटनीतिक विषयहरूलाई संवादकै माध्यमबाट टुङ्गो लगाउन उपयुक्त हुने धारणा राखेका थिए ।

रास्वपा सभापति लामिछानेको यो भारत भ्रमण र नयाँ दिल्लीमा भइरहेका लगातारका उच्चस्तरीय भेटघाटहरूलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सारथिका रूपमा चिनिने गृहमन्त्री अमित शाहसँगको यो भेटले रास्वपाको कूटनीतिक सम्बन्ध विस्तार र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा थप बलियो बनाएको विश्लेषण गर्न थालिएको छ ।

advertisement_1676553851.gif