राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ बैशाख १७, काठमाडौं । मुलुककै जेठो र ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन् ।
उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदार प्रसाद रिजालले बिहीबार कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।
उनीहरूले कर्मचारीमार्फत् कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहलाई र ह्वाट्सएपमार्फत् प्रधानमन्त्रीको सचिवालयमा पनि राजीनामा पत्र पठाएका हुन् ।
नयाँ सरकार गठन भएसँगै काम गर्ने वातावरण र कूटनीतिक सहजताका लागि आफूहरूले मार्ग प्रशस्त गरेको पदाधिकारीहरूले बताएका छन् । विशेषगरी हालै सिफारिस गरिएको नयाँ अध्यादेशमा पदाधिकारीहरूलाई हटाउन सक्ने प्रावधान राखिएको र सत्तारूढ दलका नेताहरूबाट पनि सोही किसिमका संकेतहरू प्राप्त भएपछि उनीहरूले पद त्याग गर्ने निर्णय लिएका हुन् ।
राजीनामा दिने क्रममा शिक्षाध्यक्ष केसीले आफूहरू मूलतः कक्षाकोठामा रमाउने प्राध्यापक भएको र सत्ता समीकरणमा आएको परिवर्तनसँगै नयाँ सरकारलाई आफ्नो योजना अनुसार काम गर्न सजिलो होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताए ।
उपकुलपति अर्याल अघिल्लो वर्ष २०८२ असार २५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका थिए भने शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा नियुक्त भएका थिए । विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक मर्यादा जोगाउन राजनीतिक खिचातानीमा अल्झिनुभन्दा राजीनामा दिनु नै उपयुक्त हुने ठहर पदाधिकारीहरूले गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय देखिएको राजनीतिक ध्रुवीकरण र पदाधिकारी नियुक्तिमा हुने भागबन्डाको विवादका बीच यो सामूहिक राजीनामा आएको हो । विश्वविद्यालयका सर्वोच्च तीनवटै पद एकै पटक रिक्त भएपछि अब त्रिविको प्रशासनिक र शैक्षिक गतिविधि कसरी अगाडि बढ्छ भन्नेमा अन्योल सिर्जना भएको छ ।
कुलपति बालेन्द्र शाहले यी राजीनामा स्वीकृत गरेपछि नयाँ पदाधिकारी चयनको प्रक्रिया सुरु हुनेछ। यसअघि पनि पटक-पटक राजनीतिक हस्तक्षेपको सिकार बन्दै आएको त्रिविमा नेतृत्व परिवर्तनको यो शृङ्खलाले विद्यार्थीको शैक्षिक सत्र र प्रशासनिक सुधारका कार्यहरूमा कस्तो असर पार्छ भन्ने विषयमा शिक्षाविद्हरूले चासो व्यक्त गरेका छन् ।