राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ कार्तिक १८ काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका प्रसिद्ध क्रिकेटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल पहिलोपटक आएका मिलरलाई विमानस्थलमा एनपिएल टोली कर्णाली याक्सका प्रतिनिधिहरूले भव्य स्वागत गरेका थिए ।
कर्णाली याक्सले यस संस्करणका लागि विदेशी खेलाडीका रूपमा मिलरलाई आफ्नो टोलीमा अनुबन्ध गरेको हो ।
बायाँहाते मध्यक्रमका ब्याटर मिलर सीमित ओभरको क्रिकेटमा आक्रामक ब्याटिङ र तीव्र दबाबका बीच पनि खेललाई आफ्नो पक्षमा ढाल्न सक्ने विलक्षण क्षमताका लागि विश्वभर परिचित छन् ।
३७ वर्षीय अनुभवी मिलरले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीका लागि १४० टी-२० अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दै २ शतक र ९ अर्धशतकसहित कुल २,८०४ रन बनाएका छन् । यसका साथै उनले १८० एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरूमा ८ शतक र २४ अर्धशतकको मद्दतमा ४,७६२ रन जोडेका छन् ।
समग्र टी-२० क्रिकेटमा उनको खेल जीवनको तथ्यांक अझ बढी लोभलाग्दो छ । उनले विश्वका विभिन्न घरेलु तथा फ्रेन्चाइज प्रतियोगिताका ५८४ खेलमा भाग लिँदै ४ शतक र ५३ अर्धशतकसहित १२,४३५ रन बनाइसकेका छन् ।
विश्वविख्यात इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किङ्स, राजस्थान रोयल्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स जस्ता टोलीबाट खेलिसकेका मिलर सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक उपाधि उचाल्दा टोलीका प्रमुख र निर्णायक सदस्य रहेका थिए ।
सन् २०१७ मा बङ्गलादेशविरुद्ध मात्र ३५ बलमा विस्फोटक टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेर सनसनी मचाइएका मिलरलाई विश्व क्रिकेटका सबैभन्दा अनुभवी खेलाडीको छबि बनाएका क्रिकेटर खेलाडी हुन् ।
तेस्रो संस्करणको एनपिएल प्रतियोगिता कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ ।