आईतवार, ९ कार्तिक, २०८३

बंगालको खाडीमा चक्रवाती आँधीको संकेत: कात्तिक ११ देखि नेपालमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ८ कार्तिक, २०८३

बंगालको खाडीमा चक्रवाती आँधीको संकेत: कात्तिक ११ देखि नेपालमा वर्षा र हिमपातको सम्भावना

२०८३ कार्तिक ०७ काठमाडौँ। मनसुन बाहिरिएसँगै खुलेको मौसममा फेरि बदली हुने संकेत देखिएको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै चक्रवाती आँधीमा परिणत हुने पूर्वानुमानसँगै त्यसको अप्रत्यक्ष प्रभावले आगामी बुधबार (कात्तिक ११) देखि नेपालका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले 'पोस्ट मनसुन विशेष मौसम बुलेटिन' सार्वजनिक गर्दै कात्तिक ११ देखि १५ गतेसम्म मुलुकभरको मौसम प्रभावित हुन सक्ने जनाएको छ । विभागले शुक्रबार बिहान जारी गरेको बुलेटिन अनुसार पूर्वमध्य तथा त्यससँग जोडिएको दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते चक्रवाती आँधीमा परिणत हुनेछ ।

उक्त आँधी पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा तटबाट जमिनतर्फ प्रवेश गर्ने सम्भावना रहेको छ । मौसमविद् डेभिड ढकालका अनुसार कात्तिक १० गतेसम्म वर्षाको सम्भावना नरहे पनि त्यसपछि वायुमण्डलमा बादल विकसित भई ११ गतेदेखि वर्षा सुरु हुने अनुमान गरिएको छ ।

यस प्रणालीको असर विशेष गरी पर्वतारोहण, पदयात्रा र कृषि क्षेत्रमा पर्न सक्ने देखिएको छ । हाल धान काट्ने र भित्र्याउने मुख्य मौसम रहेकाले वर्षाका कारण पाकेको धानबालीमा क्षति पुग्न सक्ने जोखिम बढेको छ । यसैलाई ध्यानमा राख्दै जल तथा मौसम विज्ञान विभाग र मौसमविद्हरूले भित्र्याउन बाँकी धानबाली जोगाउन आवश्यक व्यवस्था मिलाउन तथा उच्च हिमाली क्षेत्रमा पदयात्रा वा पर्वतारोहण गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवालाहरूमा विशेष आग्रह गरेका छन्।

advertisement_1676998982.gif