राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ कार्तिक २३ काठमाडौँ ।गृह मन्त्रालयले नेपालीहरूको मौलिक, सांस्कृतिक तथा धार्मिक परम्पराका रूपमा रहेको देउसी–भैलो कार्यक्रम सुरक्षित, मर्यादित र सुव्यवस्थित रूपमा चौबिसै घण्टा सञ्चालन गर्न दिन देशैभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ।
सोमबार भएको सचिवस्तरीय निर्णय अनुसार मौलिक कला र संस्कृतिलाई प्रोत्साहन दिने तथा सामाजिक सद्भावको संरक्षण हुने गरी अनुशासित रूपमा चौबिसै घण्टा देउसी–भैलो खेल्न दिने व्यवस्था मिलाउन निर्देशन दिइएको हो। मन्त्रालयले देउसी–भैलो पूर्ण रूपमा स्वेच्छिक हुनुपर्ने र कसैलाई पनि जबरजस्ती चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने स्पष्ट पारेको छ।स्थानीय प्रशासनलाई पठाइएको परिपत्रमा जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने अश्लील नृत्य, गीत–सङ्गीत र नारा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउन भनिएको छ। सर्वसाधारणको शान्ति सुरक्षालाई ध्यानमा राख्दै अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरणहरूको प्रयोग नगर्न र अस्पताल तथा वृद्धाश्रम जस्ता संवेदनशील क्षेत्र वरपर विशेष सावधानी अपनाउन निर्देशन दिइएको छ।
साथै, चाडपर्वका नाममा जुवा–तास खेल्न-खेलाउन, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्न र मादक पदार्थ तथा लागू पदार्थ सेवन गरेर सवारी साधन चलाउन नदिने गरी कडा व्यवस्था मिलाउन मन्त्रालयले सुरक्षा निकाय तथा जिल्ला प्रशासनहरूलाई सचेत गराएको छ।
चाडपर्वको अवधिमा शान्ति सुरक्षा चुस्त राख्न आग्रह गर्दै मन्त्रालयले कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा कुनै समस्या परेमा तुरुन्त प्रहरी नियन्त्रण कक्ष (१००) वा आपत्कालीन कार्य सञ्चालन केन्द्र (१२३४) मा सम्पर्क गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।