राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ कार्तिक २५ भर्जिनिया । अमेरिकी नागरिकता तथा स्थायी बसोबास गर्ने नेपाली समुदायलाई समेत झट्का दिएको चर्चित ममता काफ्ले भट्ट हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्।
अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टी अदालतको जुरीले लामो सुनुवाइ र प्रमाणहरूको विश्लेषणपछि नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने लगायतका सबै अभियोगमा दोषी ठहर गरेको हो ।
करिब ६ हप्ताभन्दा लामो समयसम्म चलेको यस बहुचर्चित मुद्दामा अभियोजन पक्षले करिब १०० जना साक्षी र ५०० वटाभन्दा बढी ठोस प्रमाणहरू अदालतमा प्रस्तुत गरेको थियो । सुनुवाइको क्रममा अभियोजन पक्षले डिजिटल साक्ष्यों, घरको निगरानी क्यामेरा सीसीटीभी फुटेज तथा प्रमाणहरू प्रस्तुत गर्दै नरेशले नै आफ्नी २८ वर्षीया पत्नी ममताको योजनाबद्ध रूपमा हत्या गरी लाससमेत ठेगान लगाएको तर्क पेस गरेका थिए ।
प्रतिवादी पक्षले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए । स्वयम् पति नरेशले पनि अदालतमा बयान दिँदा पत्नी मृत अवस्थामा फेला परेको र आत्तिएर शवको व्यवस्थापन गरेको जिकिर गरेका थिए । तर, जुरीले प्रतिवादीको दाबी खारेज गर्दै उनलाई सबै अभियोगमा दोषी ठहर गरेको हो ।
फैसलालगत्तै अदालतले नरेशको धरौटीको मागलाई पूर्ण रूपमा खारेज गर्दै उनलाई कडा सुरक्षा घेराभित्र हिरासतमा राखेको छ । यस सनसनीपूर्ण घटनाको सजाय निर्धारण आगामी सन् २०२७ मार्च १२ का लागि तय गरिएको छ ।
उक्त सजायमा उनलाई जन्मकैदसम्मको सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ । सन् २०२४ को जुलाई महिनादेखि वेपत्ता हुनुभएकी नर्स ममताको शव हालसम्म फेला नपरे पनि उपलब्ध डिजिटल र फरेन्सिक प्रमाणका आधारमा अदालतले न्यायको महत्त्वपूर्ण कडी पूरा गरेको सरकारी वकिल कार्यालयले जनाएको छ ।
अमेरिका र नेपालमा समेत अत्यधिक चासोका साथ हेरिएको यस न्याय निसाफले पीडित परिवारले न्यायको अनुभूत गर्न पाउने विश्वास गरिएको छ ।