राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ कार्तिक २४ काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा जनकपुर बोल्ट्ससामू सुदूरपश्चिम रोएल्सले १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको हो । जनकपुरका बलरहरूले कसिलो बलिङ गर्दै सुरुवातमै दबाब सिर्जना गरेपछि सुदूरपश्चिम ठूलो योगफल तयार पार्नबाट चुक्यो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन (२३ बल, २ चौका, २ छक्का) बनाए भने थरिन्दु रत्नायकेले २८ रन (२८ बल, १ चौका, २ छक्का) मा अविजित इनिङ खेले ।
त्यस्तै, आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १०–१० रन बनाए । पहिलो विकेटका लागि जैब र भण्डारीबीच भएको २२ रनको साझेदारी नै इनिङ्सको सर्वोच्च साझेदारी रह्यो । त्यसपश्चात नियमित अन्तरालमा विकेट गुमाएको सुदूरपश्चिम ठूलो स्कोर बनाउन असफल भयो ।
जनकपुरका कप्तान हर्मीत सिंहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यसै खेलमार्फत एनपीएलमा डेब्यु गरेका आयरल्याण्डका अलराउन्डर हेरी टेक्टरले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चिंदै १ विकेट हात पारे । त्यस्तै, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले पनि १–१ विकेट आफ्नो नाम गरे ।