शुक्रबार, ११ बैशाख, २०८३

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

२०८३ बैशाख ११, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न आज शुक्रबार निर्वाचन हुँदैछ । प्रतिनिधि सभामा ३८ सिट रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो संसदीय दलको नेता छान्नका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन प्रक्रिया अघि बढाएको हो ।

यसअघि नै निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज मनोनयन दर्तादेखि मतदान र मतगणनासम्मका सम्पूर्ण प्रक्रिया सम्पन्न हुनेछन् ।

निर्वाचन समितिका अनुसार आज दिउँसो मनोनयन दर्ताको समय तोकिएको छ भने त्यसपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । सबै प्रक्रिया पूरा भएपछि अपराह्नमा मतदान कार्य सुरु हुनेछ ।

मतदान सम्पन्न भएसँगै आजै मतगणना गरी नतिजा सार्वजनिक गर्ने तयारी समितिले गरेको छ । कांग्रेसको विधानबमोजिम दलको नेता बन्नका लागि कुल सांसद सङ्ख्याको बहुमत आवश्यक पर्छ ।

यस पटकको संसदीय दलको नेताको निर्वाचनमा पार्टीभित्रका विभिन्न नेताहरूको नाम चर्चामा रहेको छ । संस्थापन र इतर समूहबाट प्रभावशाली नेताहरूले दलको नेतामा दाबी प्रस्तुत गर्दै आएका छन् ।

विशेषगरी अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यजस्ता नेताहरूले दलको नेताका लागि आफ्नो बलियो दाबी पेस गरिरहेका छन्। पार्टीभित्रका आन्तरिक समीकरणहरूलाई मिलाउँदै संसदीय दलको नेता चयन गर्नु कांग्रेसका लागि यतिबेला निकै महत्त्वपूर्ण मानिएको छ ।

निर्वाचन समितिका अनुसार प्रतिनिधि सभाका ३८ जना सांसदहरूले आज मतदानमा भाग लिनेछन् ।

advertisement_1680627680.gif