बुधबार, २४ असार, २०८३

तुलसी सहकारीका ३७७ ऋणीको नाम व्यवस्थापन समितिद्वारा सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

तुलसी सहकारीका ३७७ ऋणीको नाम व्यवस्थापन समितिद्वारा सार्वजनिक

२०८३ असार २३, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ ।  

त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।  

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ ।

मुलुकभरका दर्जनौँ सहकारीहरू संकटग्रस्त बनेर सर्वसाधारणको अर्बौँ रुपैयाँ जोखिममा परेपछि सरकारले गठन गरेको यस व्यवस्थापन समितिले पछिल्लो समय समस्याग्रस्त घोषित संस्थाहरूको सम्पत्ति र दायित्व मूल्यांकन गरी असुली कार्यलाई तीव्र बनाउँदै आएको छ ।

विशेष गरी तुलसी बहुउद्देश्यीय सहकारीले मोरङ, सुनसरी, झापा र सिराहा लगायतका पूर्वी जिल्लाहरूमा सेवा केन्द्र खोलेर हजारौँ सर्वसाधारणको बचत फिर्ता नगरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

advertisement_1676551646.gif