शुक्रबार, १५ जेष्ठ, २०८३

आगामी आर्थिक वर्षको बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

आगामी आर्थिक वर्षको बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदै

२०८३ जेष्ठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज (शुक्रबार) बजेट प्रस्तुत गर्दै छ ।

दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट प्रस्तुत गर्न लागेको हो ।

गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याउन लागेको यो पहिलो बजेट हो । चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो ।

अर्थमन्त्री वाग्लेले चालु बजेटभन्दा २ देखि ३ खर्ब रुपैयाँ बढीको बजेट ल्याउने तयारी गरेका छन् । यस वर्षको बजेटमा कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि (आईटी), रोजगारी, शिक्षा, स्वास्थ्य लगायतलाई मुख्य प्राथमिकतामा राख्ने तयारी सरकारको छ ।

यसपटक सरकारले करिब १८ खर्ब ९० अर्बदेखि २० खर्ब रुपैयाँसम्मको बजेट ल्याउने तयारी गरेको विभिन्न स्रोतहरूले जनाएका छन् । अर्थसचिव घनश्याम उपाध्यायले मंगलबार बसेको अर्थ समितिको बैठकमा राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा तोकेको जानकारी दिएका थिए ।

यसैबीच, संघीय संसद्को संयुक्त सदनमा पेस हुने यो वार्षिक बजेट भाषण नयाँ हलबाट भने प्रस्तुत नहुने भएको छ ।

सिंहदरबारस्थित पुतली बगैँचामा बनिरहेको संसद् भवन निर्धारण गरिएको समयमा बन्न नसक्दा र प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत गर्न असम्भव भएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिएका छन् । 

advertisement_1680627680.gif