बिहीबार, ७ श्रावण, २०८३

आज बीपी कोइरालाको ४४औं स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

आज बीपी कोइरालाको ४४औं स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

२०८३ साउन ०६, काठमाडौँ । नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता, देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रख्यात साहित्यकार विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाली कांग्रेस, बीपी चिन्तनसँग आबद्ध संघसंस्था तथा नागरिक समाजले उनको राजनीतिक, वैचारिक र साहित्यिक योगदानको स्मरण गर्दै विचार गोष्ठी, श्रद्धाञ्जलि सभा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।

नेपालमा लोकतन्त्र स्थापनाको संघर्ष, राष्ट्रिय मेलमिलापको अवधारणा, लोकतान्त्रिक समाजवादको दर्शन र नागरिक स्वतन्त्रताका लागि जीवनभर अडिग रहनुभएका बीपी नेपाली राजनीतिक इतिहासका सर्वाधिक प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्छन् ।

वि.सं. १९७१ भदौ २४ गते भारतको वाराणसीमा जन्मिएका बीपीले बाल्यकालदेखि नै राजनीतिक चेतना प्राप्त गरेका थिए । २००७ सालको जनक्रान्तिमा उनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाले नेपालको राजनीतिक इतिहासमा नयाँ युगको सुरुवात गराएको थियो ।

राणा शासनको अन्त्यपछि सम्पन्न २०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई-तिहाइ बहुमत प्राप्त गरेपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्रीका रूपमा उनले भूमिसुधार, शिक्षा विस्तार र आर्थिक विकासलाई प्राथमिकता दिए । तर, २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि प्रहार गर्दै संसद् विघटन गरेपछि बीपीसहित शीर्ष नेताहरूलाई बन्दी बनाइयो । लामो जेल जीवन र निर्वासनका कठिन परिस्थितिमा पनि उनी सिद्धान्तबाट विचलित भएनन् ।

वि.सं. २०३३ सालमा बीपीले अघि सारेको ‘राष्ट्रिय मेलमिलापको नीति’ नेपाली राजनीतिमै एउटा दूरदर्शी र ऐतिहासिक कदम मानिन्छ। घाँटीको क्यान्सरका कारण वि.सं. २०३९ साउन ६ गते उनको निधन भएको थियो । उनको स्मृतिमा सुन्दरीजलस्थित तत्कालीन बन्दीगृहलाई ‘बीपी संग्रहालय’का रूपमा विकास गरिएको छ, जहाँ उनका व्यक्तिगत सामग्री र २००७ सालको क्रान्तिमा प्रयोग गरिएका ऐतिहासिक वस्तुहरू सुरक्षित छन् ।

राजनीतिबाहेक नेपाली साहित्यमा पनि बीपीको योगदान अतुलनीय छ । उनका ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु, आमा र छोरा’ लगायतका उपन्यासहरू मनोवैज्ञानिक र अस्तित्ववादी साहित्यका कालजयी कृति हुन् ।

advertisement_1676553851.gif