राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८३ बैशाख ०२, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग आज बुधबार विशेष अन्तरक्रिया गर्दै छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राष्ट्रिय दलका समानुपातिक सांसदहरूलाई निमन्त्रणा गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, यस छलफलको मुख्य उद्देश्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदहरूको भूमिकालाई सदन र सरकारको नीति निर्माण प्रक्रियामा कसरी अझ बढी प्रभावकारी बनाउने भन्ने रहेको छ ।
समानुपातिक सांसदहरूलाई संसदीय समितिहरूमा थप सक्रिय बनाउने र उनीहरूको विज्ञतालाई कानुन निर्माणमा कसरी जोड्ने भन्ने विषयमा छलफल हुने बताइएकाे छ । प्रत्यक्ष निर्वाचित सांसदहरूको तुलनामा समानुपातिक सांसदहरूले विकास बजेट र योजना छनोटमा भोग्नुपरिरहेको विभेदलाई अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्रीले सुझाव लिने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहले सार्वजनिक गरेको ‘१०० बुँदे सुशासन सुधार खाका’ कार्यान्वयनमा सबै सांसदहरूको साझा प्रतिबद्धता खोजिनेछ ।
प्रधानमन्त्रीले यसअघि नै विभिन्न मञ्चहरूमा समानुपातिक सांसदहरू ‘दोस्रो दर्जा’ को नभई देशको भूगोल, वर्ग र समुदायको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण शक्ति भएको बताउँदै आएका छन् । आजको छलफलमा उनीहरूको मनोबल उच्च बनाउन र संसद्मा उनीहरूको आवाजलाई थप सशक्त बनाउने गरी विशेष कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।
हालै सार्वजनिक भएको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामाथि विभिन्न दलका सांसदहरूको धारणा बुझ्न पनि यो अन्तरक्रिया महत्त्वपूर्ण मानिएको छ । सरकारले चैत २७ गते सार्वजनिक गरेको शासन सुधारको मार्गचित्रलाई सफल बनाउन संसद्का सबै पक्षलाई समेट्ने प्रधानमन्त्री शाहको रणनीतिका रूपमा यसलाई हेरिएको छ ।
अन्तरक्रियामा सहभागी हुनका लागि सबै दलका सचेतकहरू मार्फत सांसदहरूलाई जानकारी पठाइसकिएको प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।