सोमबार, १ भाद्र, २०८३

अदालतले न्याय दिएकाले नेपाल फर्कन पाएँ, म हिन्दु हुँ तर सबै धर्मको सम्मान गर्छु: देउवा

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

अदालतले न्याय दिएकाले नेपाल फर्कन पाएँ, म हिन्दु हुँ तर सबै धर्मको सम्मान गर्छु: देउवा

२०८३ साउन ३१, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विगतदेखि नै न्यायालयले न्याय दिँदै आएको र अहिले पनि अदालतकै कारण नेपाल फर्कन सफल भएको बताएका छन् ।

काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको बन्दसत्रमा सहभागी भई संक्षिप्त सम्बोधन गर्दै देउवाले विमानस्थलदेखि नै आफूलाई प्राप्त उत्साहजनक समर्थनका लागि कार्यकर्ताहरूलाई धन्यवाद दिए ।

पछिल्लो समय आफूविरुद्ध जारी पक्राउ पुर्जी तथा अन्तर्राष्ट्रिय स्तरमा रेड नोटिस जारी गर्ने प्रयासतर्फ संकेत गर्दै देउवाले पञ्चायतकाल र राजाको शासनमा शाही आयोग खारेज गरेर समेत न्यायालयले आफूलाई बचाएको स्मरण गर्दै अदालतप्रति गहिरो कृतज्ञता व्यक्त गरे ।

सम्बोधनका क्रममा देउवाले पार्टीभित्रको पछिल्लो आन्तरिक विवाद र विशेष महाधिवेशनका विषयमा पनि स्पष्ट धारणा राखेका छन् । सबै पक्षको सहमतिमा विशेष महाधिवेशन गर्ने भनिए पनि बलजफ्ती रूपमा आयोजना गरेर धेरै निष्ठावान् साथीहरूलाई अन्यायपूर्वक बाहिर पारिएको आरोप उनले लगाए ।

विशेष महाधिवेशनको निर्णयलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले आफूले धेरै टिप्पणी नगर्ने तर अदालतबाट न्याय पाउनेमा पुनः विश्वास व्यक्त गरे । बन्दसत्रमा देउवाको उपस्थितिलाई पार्टीभित्र विकसित भइरहेको नयाँ शक्ति समीकरण र आन्तरिक विवादका बीच अत्यन्त अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसैगरी देउवाले आफ्नो सम्बोधनको ठूलो हिस्सा धार्मिक स्वतन्त्रता र व्यक्तिगत आस्थामा केन्द्रित गरेका थिए । आफू व्यक्तिगत रूपमा पशुपतिनाथको पूजा गर्ने कट्टर हिन्दु भएको दोहोर्याउँदै उनले बुद्ध धर्मलाई वैज्ञानिक धर्मको रूपमा सम्मान गर्ने र किरात समुदायको प्रकृति पूजा परम्पराप्रति पनि आफ्नो अगाध प्रेम रहेको स्पष्ट पारे ।

आफू हिन्दु भए पनि नेपालमा सम्पूर्ण नागरिकलाई आफ्नो धर्म मान्ने पूर्ण स्वतन्त्रता हुनुपर्नेमा जोड दिँदै देउवाले नेपाली जनताले धर्मका विषयमा गर्ने जुनसुकै निर्णयलाई आफूले सधैँ स्वीकार गर्ने प्रतिबद्धता जनाए ।

advertisement_1676551646.gif