शुक्रबार, २३ आश्विन, २०८३

नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : मन्त्री डा तिमिल्सिना

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : मन्त्री डा तिमिल्सिना

२०८३ असोज २२ काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै नेपाली ब्राण्डलाई विश्व बजारमा स्थापित गर्न सरकारले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताएका छन् ।

कर्पोरेट नेपालद्वारा आज काठमाडौँमा आयोजित ‘नेपाली ब्राण्ड परिसंरचना २०८३’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले नेपालका उत्पादन तथा ब्राण्डको वर्तमान अवस्था पहिचान गर्न वैज्ञानिक विधिबाट गरिएको अध्ययन महत्त्वपूर्ण हुने बताएका हुन् ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाली ब्राण्डको प्रवर्द्धनका लागि विद्यमान नीतिगत तथा संरचनागत समस्याको पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिए । औद्योगिक तथा बौद्धिक सम्पत्तिको संरक्षण र प्रवर्द्धनका लागि राज्यका सम्बन्धित निकाय, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

नेपालका विशिष्ट उत्पादन, मौलिक पहिचान र भौगोलिक विशेषताबाट अन्तर्राष्ट्रिय बजारमा लाभ लिन सकिने बताउँदै उनले भौगोलिक पहिचानसँग जोडिएका उत्पादनलाई बौद्धिक सम्पत्तिका रूपमा संरक्षण गरी विश्व बजारमा नेपाली ब्राण्डका रूपमा स्थापित गर्नुपर्ने उल्लेख गरे ।

advertisement_1676551537.gif