राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
पोखरा। निर्वाचन समीक्षा बैठकमा बोल्नेक्रममा एक्कासि ढलेका एमाले कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको बताइएको छ । प्राप्त जानकारी अनुसार भर्खरै मणिपाल मेडिकल कलेजले उनको निधनको घोषणा गरेको हो ।
निर्वाचन समीक्षा कार्यक्रममा आफूले बोल्नासाथ कुर्सीमा बसेका थापा त्यहीँ ढलेका थिए । उनलाई १० मिनेटभित्रै मणिपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको र त्यहाँ पुग्दासम्म श्वासप्रश्वास चलेजस्तो लागेको, तर केही समयमै चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।
फागुन २१ को चुनावका लागि एमालेले सुरूमा कास्की-२ बाट थापालाई टिकट दिएको थियो । पछि रश्मी आचार्यलाई अघि सारियो।थापाकै प्रस्तावमा रश्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले बताएको थियो ।
२०५४ को स्थानीय तह निर्वाचनमा पोखरा नगरपालिकाको मेयर निर्वाचित थापा संविधानसभा सदस्य थिए । उनी एमाले कास्कीको अध्यक्ष हुँदै तीन कार्यकाल केन्द्रीय सदस्य भएका हुन् ।