बिहीबार, १४ जेष्ठ, २०८३

बकर इदको राष्ट्रपतिद्वारा शुभकामना-धार्मिक विविधता र सहिष्णुता नै नेपालको पुँजी

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

बकर इदको राष्ट्रपतिद्वारा शुभकामना-धार्मिक विविधता र सहिष्णुता नै नेपालको पुँजी

२०८३ जेष्ठ १४, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने बताएका छन् ।

मुस्लिम समुदायको महान् पर्व इद-उल-अज्हा (बकर इद) को पावन अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ बलियो बनाउँदै देशको समृद्धि र चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरेका छन् ।

मुस्लिम समुदायमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने यो पर्वको आफ्नै विशिष्ट महत्त्व छ । यस अवसरमा समुदायका नागरिकहरू खुलास्थान, इदगाह वा मस्जिदहरूमा भेला भई सामूहिक रूपमा नमाज पढ्नुका साथै हर्षोल्लासका साथ चाड मनाउने गर्दछन् ।

राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाजसेवाको उच्च सन्देश बोक्ने यस्ता चाडपर्वहरूले देशका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम राख्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यसका साथै बकर इदले समाजमा सामाजिक सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आ-आफ्नो मौलिक संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन र विकासमा थप टेवा पुग्ने अपेक्षा राष्ट्रपति पौडेलले गरेका छन् ।

यस पर्वको माध्यमबाट सबै नेपालीबीच प्रेम, करुणा, त्याग र राष्ट्रिय एकताको भावना बलियो बन्दै जाओस् भन्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भनी देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

advertisement_1676553908.gif