सोमबार, ४ श्रावण, २०८३

गगन थापालाई देउवा समूहले राख्यो पाँच बुँदे प्रस्ताव

राष्ट्रिय सन्‍देश संबाददाता, २१ घण्टा पहिले

गगन थापालाई देउवा समूहले राख्यो  पाँच बुँदे प्रस्ताव

२०८३ साउन ०३, काठमाडौँ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन र आसन्न १५ औं महाधिवेशनको तयारीलाई गति दिन संस्थापन इतर (देउवा समूह) ले पाँच बुँदे प्रस्ताव अघि सारेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश तथा जिल्ला सभापतिहरूको संयुक्त बैठकले यो सहमति खाका तयार पारेको हो।

प्रस्ताव अनुसार चौधौं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर वर्तमान कार्यसमितिलाई पूर्णता दिइनेछ। साथै, पार्टी सञ्चालनलाई सहज बनाउन सभापति थापाको स्पष्ट बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव गरिएको छ।

यसैगरी, यो पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले तत्कालै १५ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरूमा भने वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी सन्तुलन मिलाइने जनाइएको छ। महाधिवेशनको सबैभन्दा संवेदनशील पक्ष मानिएको क्रियाशील सदस्यताको विवादलाई सल्टाउन बैठकले विशेष जोड दिएको छ।

जसअन्तर्गत, तत्कालीन महामन्त्री एवं वर्तमान सभापति गगनकुमार थापा संयोजक रहेको समितिले पहिले नै टुंग्याइसकेका सबै क्रियाशील सदस्यहरूलाई १५ औं महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरिनेछ।

ती सदस्यहरूको विवरणलाई डिजिटल इन्ट्री गर्दै लगिने र उक्त डिजिटल इन्ट्रीलाई 'पुनः नवीकरण' को नाम दिएर महाधिवेशनमा भाग लिन पाउने वा नपाउने विषयसँग नजोडी मताधिकार सुरक्षित गरिने प्रस्तावमा उल्लेख छ।

advertisement_1676998982.gif