राष्ट्रिय सन्देश संबाददाता, १३ घण्टा पहिले
२०८३ जेष्ठ १५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न सकिए मात्रै जनताले आफ्नो अवस्था परिवर्तन गर्न पाउने बताएका छन् ।
१९ औं गणतन्त्र दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले तत्काल नभई जीवन भोगाइको नतिजाबाट बिस्तारै थाहा पाउने उल्लेख गरेका छन् ।
अठार वर्षअघि नेपाली जनता आफैँले निर्वाचित गरेको संविधानसभाद्वारा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै उनले जनताले आफ्नो शासनप्रणाली आफैँ निर्धारण गर्ने यो अधिकार पाउन सात दशकभन्दा लामो संघर्ष गर्नुपरेको बताए ।
बोल्ने, लेख्ने, संगठित हुने र राजनीतिक विचार राख्ने स्वतन्त्रताका लागि हजारौं अग्रजहरूले जीउज्यान अर्पण गरेको तथा कयौँले दशकौं लामो जेलनेल, यातना र निर्वासन भोगेको उनले स्मरण गरे । जनताको ठूलो संघर्ष र बलिदानकै कारण हुकुमबाट चल्ने प्रणाली फ्याँकिएर कानुन र लोकतान्त्रिक संरचनाबाट पद्धति सञ्चालन हुने व्यवस्था सुरु भएको उनको भनाइ छ ।
विश्वका अन्य मुलुकहरूको तुलनामा नेपालले गणतन्त्रको छोटो अभ्यास गरे पनि यसबीचमा सामाजिक र भौतिक पूर्वाधारका क्षेत्रमा मात्रा र गुण दुवै हिसाबले ठूलो विकास भएको उनले बताए । गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभएर शताब्दीयौँदेखि प्रजाका रूपमा रहेको समाजलाई सार्वभौम नागरिकमा बदल्ने नेपाली चेतनाको गहिरो रूपान्तरण भएको उनले स्पष्ट पारे ।
यस्तो परिवर्तित अभ्यासमा परिपक्वता आउन समय लाग्ने धारणा राख्दै उनले आज गाउँगाउँमा पुगेको स्थानीय सरकार, राज्यका हरेक तहमा बढेको समावेशी प्रतिनिधित्व, नागरिक स्वतन्त्रता र डिजिटल पहुँच जस्ता उपलब्धिहरू आकस्मिक नभई गणतन्त्रकै प्रतिफल भएको दाबी गरे ।
परिवर्तनको गति सोचेजति तीव्र नहुँदा व्यवस्थाप्रति असन्तुष्टि देखिनु स्वाभाविक भए पनि त्यसको वैधानिक सम्बोधन गणतान्त्रिक प्रणालीभित्रैबाट मात्र सम्भव हुने अध्यक्ष ओलीले उल्लेख गरे ।
जनताको निराशालाई हतियार बनाएर संस्थाहरूमाथि अविश्वास रोप्ने र लोकतान्त्रिक संरचनालाई कमजोर बनाउने प्रवृत्तिले अन्ततः अधिनायकवादलाई प्रश्रय दिने र नागरिक अधिकार खोस्ने जोखिम रहने उनको ठम्याइ छ ।
संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसको रक्षा गर्नु नै आजको मुख्य कार्यभार भएको बताउँदै उनले लोकतान्त्रिक संस्थाहरू कमजोर भए समाज र नागरिक कोही पनि बलियो हुन नसक्ने उल्लेख गरे ।
लोकतान्त्रिक गणतन्त्र नहुँदा के कति कुरा गुम्छन् भन्ने पीडा अघिल्लो पुस्ताले भोगिसकेको चर्चा गर्दै उहाँले गणतन्त्र दिवसको अवसरमा आवेगमा नआई शान्त मनले लोकतन्त्र प्राप्तिको संघर्षलाई सम्झिन र यसको भविष्यबारे गम्भीर चिन्तन गर्न सबैमा आह्वान गरेका छन् ।