राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८२ मंसिर ९, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको समेत बताएका छन् ।
मंसिर २७–२९ गते काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गर्दै पोखरेलले पोखरेलले जननेता मदन भण्डारीदेखि हालसम्मको एमाले राजनीतिक यात्राप्रति सम्मान व्यक्त गर्दै हालको राजनीतिक अवस्थामा पार्टीले गम्भीर आत्मसमीक्षा र संगठन पुनर्गठन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
उनले भदौ २३ पछिका घटनाले संविधानको मार्गरेखालाई पुनः सही बाटोमा ल्याउने जिम्मेवारी एमालेमाथि आएको टिप्पणी गरेका छन् ।
आफू अध्यक्षमा उठ्न लागेको मुख्य कारणका रूपमा उनले पार्टीमा आन्तरिक लोकतन्त्र, पारदर्शिता, संगठन पुननिर्माण र नेतृत्व हस्तान्तरणको संस्कृतिलाई संस्थागत गर्नुपर्ने उनले बताए ।
पार्टीमा दुई कार्यकालको नेतृत्व सीमालाई विधानमै पुनःस्थापना गर्नुपर्ने, अनुशासन, लेखापरीक्षण र संगठनात्मक स्वायत्ततामा स्पष्ट मापदण्ड लागू गर्नुपर्ने उनले बताएका छन् ।