राष्ट्रिय सन्देश संबाददाता, १९ घण्टा पहिले
२०८३ कार्तिक १४ काठमाडौँ । नेकपा (एमाले)का नेता तथा पूर्वसांसद सूर्य थापाले प्रहरी हिरासतमा रहेका भनिएका विचौलिया इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा–५ मा सर्वेक्षणका लागि परिचालित व्यक्ति रहेको दाबी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थापाले सापकोटा प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्रमा सर्वेक्षण गर्न खटिएको व्यक्ति भएको जानकारी आफूलाई रहेको उल्लेख गरे ।
उनले सापकोटाको प्रधानमन्त्रीसँग सम्बन्ध रहेको दाबी गर्दै न्यायाधीशहरूसँग जोडिएर सार्वजनिक भएका विवादमा समेत प्रश्न उठाए।
यद्यपि, सापकोटा प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्रमा सर्वेक्षणका लागि परिचालित भएको वा प्रधानमन्त्रीसँग उनको सम्बन्ध रहेको भन्ने थापाको दाबी पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन । यस विषयमा प्रधानमन्त्री शाह वा उनको सचिवालयको प्रतिक्रिया पनि उपलब्ध छैन ।
थापाले शुक्रबार विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरेको र पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाको समेत विरोध गरे । उनले समाचारको स्रोत गोप्य राख्न पाउने पत्रकारको संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाए ।
पत्रकारमाथि भएको व्यवहारलाई विगतका निरंकुश शासनकालसँग तुलना गर्दै थापाले सञ्चारमाध्यममा प्रहरी परिचालन गर्ने कार्यप्रति आपत्ति जनाए ।
पत्रकार पक्राउ प्रकरणबारे टिप्पणी गर्दै थापाले शुक्रबारको घटनाले नेपालको मिडियामाथि जहाँनिया राणा शासन, पञ्चायत र निरंकुश राजतन्त्रकालमा समेत नभएको प्रकृतिको व्यवहार भएको आरोप लगाए । पत्रकारले आफ्नो समाचार स्रोतको संरक्षण गर्न पाउने व्यवस्था संविधानमै स्पष्ट रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यम र पत्रकारमाथि भएको व्यवहारप्रति आपत्ति जनाए ।
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसहितको संलग्नता रहेको आरोप पनि थापाले लगाए ।
थापाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले वर्तमान संसद्लाई पाँच वर्षसम्म टिकाउन सक्नेमा समेत आशंका व्यक्त गरे ।