राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ भदौ ०९ काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष सर्वोच्च अदालत पुगेका छन् ।
देउवा र खड्काका तर्फबाट कानून व्यवसायीले सोमबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन् । दुवै रिटमा कांग्रेसले असोजमा महाधिवेशन गर्ने गरी अघि बढाएको प्रक्रिया तत्काल रोक्न माग गरिएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
यसअघि शुक्रबार देउवा पक्षले सर्वोच्चमा रिट पेस गरेको थियो । तर निवेदनमा केही विषय सच्याउनुपर्ने भएपछि त्यसलाई फिर्ता लगिएको थियो । आवश्यक संशोधनपछि सोमबार पुनः रिट दर्ता गरिएको हो ।
देउवा पक्षले कांग्रेसको महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउनुअघि पार्टीको आधिकारिकतासँग जोडिएको विवाद टुंगिनुपर्ने जिकिर गरेको छ । उक्त विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्च अदालतले निस्सा दिइसकेको अवस्थामा मुद्दाको अन्तिम टुंगो नलाग्दै महाधिवेशनको प्रक्रिया अघि बढाउनु उचित नहुने उनीहरूको तर्क छ ।
कांग्रेसले यसअघि असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर पार्टीभित्र नेतृत्व र महाधिवेशनको प्रक्रियालाई लिएर विवाद कायमै छ ।
यसैबीच इतर समूहको भेलाले वर्तमान सभापति गगन थापाको नेतृत्व अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन अघि बढाउने निर्णय गरेको थियो । त्यसपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ ।
सर्वोच्चमा दायर रिटमाथि अदालतले दिने आदेशले कांग्रेसको आगामी महाधिवेशनको प्रक्रिया र समयतालिकामै प्रभाव पार्न सक्ने देखिएको छ ।