शनिबार, ३० श्रावण, २०८३

कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला आज पनि जारी

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला आज पनि जारी

२०८३ साउन ३०, काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला दोस्रो दिन आज पनि जारी रहने भएको छ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हिजोदेखि सुरु भएको उक्त भेला आज बिहान ११:०० बजेबाट पुन: सञ्चालन हुन लागेको हो ।

प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार भेला भोलि साउन ३१ गतेसम्म चल्नेछ ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको सभापतित्वमा भइरहेको यो भेलामा सहभागी प्रतिनिधिहरूलाई आफ्नो धारणा राख्न प्रतिव्यक्ति तीन मिनेटको समय निर्धारण गरिएको छ । भेलाले संगठन परिचालन र विभिन्न जिम्मेवारी बाँडफाँडका लागि कम्तीमा १४ वटा उपसमितिहरूसमेत गठन गर्ने जनाइएको छ ।

सर्वोच्च अदालतले हालै कांग्रेसको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकन (रिभ्यू) गर्ने अनुमति दिएपछि देउवा समूह उत्साहित बनेको छ ।

करिब पाँच महिनाको विदेश बसाइपछि निवर्तमान सभापति देउवा पनि यसै भेलामा सहभागी हुन गत बिहीबार स्वदेश फर्किएका थिए ।

advertisement_1676551646.gif