राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ असोज १५ काठमाडौँ I नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औं महाधिवेशनअन्तर्गत बिहीबार एकै दिन देशभरका तीन हजार १९१ वडामा नयाँ नेतृत्व चयन गरेको छ ।
पार्टीभित्र आन्तरिक विवाद र समानान्तर गतिविधिको वातावरण बनिरहेका बेला देउवा पक्षले बिहीबारदेखि वडा अधिवेशन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो । वडा अधिवेशन सम्पन्न गराउन केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लामा विशेष निर्वाचन संयोजक र ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन अधिकृत खटाएको छ ।
पहिलो दिन सातै प्रदेशका गरी तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिएका छन् ।
जसअनुसार कोशी प्रदेशका ५७७, बागमती प्रदेशका ५६३, लुम्बिनी प्रदेशका ५५०, सुदूरपश्चिम प्रदेशका ४५६, मधेश प्रदेशका ४०२, गण्डकी प्रदेशका ३८६ र कर्णाली प्रदेशका २५७ वडामा अधिवेशन सकिएको छ ।
समितिका अनुसार रसुवा जिल्लामा बाढी–पहिरोका कारण हुन नसकेको वडा अधिवेशन तथा बागलुङमा पार्टी नेता मणिभद्र शर्मा कँडेलकी श्रीमतीको निधनका कारण रोकिएको अधिवेशन यही असोज १६ गते सम्पन्न गर्ने तयारी गरिएको छ ।
कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म हुने तय भएको छ ।