राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ जेष्ठ ३१, काठमाडौं । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्याएको आरोप लगाएका छन् ।
विराटनगरमा काँग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टीभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको बताए । बीपी पुत्रहरू शशांक कोइरालादेखि प्रकाशमान सिंह र विमलेन्द्रनिधि जस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा अवरोध सिर्जना गरिएको उनको भनाइ छ ।
आन्तरिक विवादका कारण कांग्रेस संकटमा परेको बताउँदै नेता बस्नेतले पार्टीलाई जोगाउन र सुदृढ बनाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई एक ढिक्का भएर लाग्न आह्वान गरे । उनले पार्टीभित्रको मनमुटाव चिरेर वैचारिक एकता कायम गर्नुपर्नेमा जोड दिए ।
बस्नेतले पार्टी नेतृत्वले पुराना र स्थापित नेताहरूलाई योजनाबद्ध रूपमा पाखा लगाउन खोजेको दाबी गरे । क्रियाशील सदस्यता नवीकरणमा भएको अवरोधप्रति आक्रोशित बन्दै उनले भने, ‘बिपी पुत्र डा. शशांक कोइरालादेखि प्रकाशमान सिंह र विमलेन्द्र निधिसम्मका प्रभावशाली नेताहरूको सदस्यता नवीकरणमा अवरोध गरिनु दुःखद छ । दशकौँसम्म पार्टीमा पसिना बगाएका सिनियर नेताहरूको सदस्यता रद्द गर्ने र बिना कुनै मापदण्ड नयाँ मान्छे थप्ने काम भइरहेको छ ।’
नेता बस्नेतले कांग्रेसलाई कमजोर बनाउन ‘नाटक’ रचिएको आरोप लगाए ।