शुक्रबार, १५ जेष्ठ, २०८३

कालीगण्डकीसहित ३ करिडोरमा ६ अर्ब २५ करोड विनियोजन

राष्ट्रिय सन्‍देश संबाददाता, ६० मिनेट पहिले

कालीगण्डकीसहित ३ करिडोरमा ६ अर्ब २५ करोड विनियोजन

२०८३ जेष्ठ १५, काठमाडौं । सरकारले उत्तर–दक्षिण सडक सञ्जाललाई सुदृढ बनाउने उद्देश्यले काली, कालीगण्डकी र कोशी करिडोरको निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष यी तीन रणनीतिक सडक करिडोरका लागि रु ६ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्तर-दक्षिण करिडोरलाई राष्ट्रिय तथा अन्तरदेशीय व्यापार, यातायात तथा आर्थिक गतिविधिको महत्वपूर्ण आधारका रूपमा विकास गरिने जानकारी दिए ।

बजेटअनुसार काली करिडोरमा २१ किलोमिटर सडक कालोपत्रे तथा ट्र्याक सुधारको कार्य सम्पन्न गरिनेछ। भारत र चीनसँगको सीमा क्षेत्रलाई जोड्ने यो करिडोरको स्तरोन्नतिबाट सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको यातायात पहुँचमा सुधार आउने अपेक्षा गरिएको छ ।

त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत २१ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ । हिमाल, पहाड र तराईलाई जोड्ने यस करिडोरको स्तरोन्नतिले पर्यटन, कृषि तथा व्यापारिक गतिविधिमा सहयोग पुग्ने सरकारको विश्वास छ ।

कोशी करिडोरको उत्तरी खण्डमा १५ किलोमिटर सडक कालोपत्रे गरिने बजेटमा उल्लेख छ । पूर्वी नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग प्रभावकारी रूपमा जोड्ने लक्ष्यसहित यो कार्यक्रम अघि बढाइएको हो ।

अर्थमन्त्री वाग्लेले यी तीनवटै करिडोरको निर्माण तथा स्तरोन्नतिका लागि आगामी आर्थिक वर्ष रु ६ अर्ब २५ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए । सरकारले उत्तर–दक्षिण सडक सञ्जाल विस्तारमार्फत सीमावर्ती क्षेत्रको आर्थिक विकास, व्यापारिक आवागमन सहजता तथा क्षेत्रीय कनेक्टिभिटी अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ ।

बजेटले उत्तर–दक्षिण करिडोरलाई राष्ट्रिय पूर्वाधार विकासको प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, यातायात पहुँच विस्तार तथा आर्थिक गतिविधि प्रवर्द्धनलाई केन्द्रमा राखेको छ ।

advertisement_1680627680.gif