बुधबार, ३१ असार, २०८३

मिडिया र प्रतिपक्षको निवास घेर्नेमाथि सामान्य जरिवाना होइन, कडा कारबाही हुनुपर्छ : सांसद रमेश मल्ल

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

मिडिया र प्रतिपक्षको निवास घेर्नेमाथि सामान्य जरिवाना होइन, कडा कारबाही हुनुपर्छ : सांसद रमेश मल्ल

२०८३ असार ३०, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश कुमार मल्लले मुगुका गणेश नेपालीको आत्मदाहपछि उत्पन्न परिस्थितिका साथै विभिन्न मिडिया हाउस र राजनीतिक नेतृत्वको निवास अगाडि भएका शंकास्पद गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद मल्लले करिब डेढ महिनादेखि संसद्को रोस्ट्रमबाट प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको निरन्तर विरोध भइरहेको भए पनि सरकार र सदन दुवैले यस विषयलाई गम्भीरतापूर्वक नलिएको भन्दै तीव्र असन्तुष्टि जनाए ।

२५ वर्षीय युवा गणेश नेपालीको आत्मदाह र त्यसपछिको दुःखद निधनले सिंगो देश नै स्तब्ध बनेको परिप्रेक्ष्यमा उक्त घटनालाई राजनीतिक स्वार्थका लागि तोडमोड गर्ने प्रयास भइरहेको आरोप उनले लगाए । पछिल्ला दिनहरूमा राजधानी काठमाडौंका विभिन्न संवेदनशील स्थानहरूमा सडक अवरोध गर्ने, मिडिया हाउसहरूको मुख्य गेट अगाडि नियोजित रूपमा गाडी तेर्स्याउने तथा राजनीतिक गतिविधिका नाममा अराजकता फैलाउने जस्ता शंकास्पद घटनाहरूको तत्काल निष्पक्ष छानबिन हुनुपर्ने सांसद मल्लको मुख्य माग थियो।

उनले स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने गरी मिडिया हाउसअगाडि गाडी पार्किङ गर्ने र प्रमुख प्रतिपक्ष दलका नेताको निवास खोज्दै जाने जस्ता गतिविधि लोकतन्त्रका लागि निकै घातक र गम्भीर विषय भएको प्रष्ट पारे । राज्यका संयन्त्रहरू मौन रहँदा यस्ता गतिविधिले प्रश्रय पाएको उल्लेख गर्दै उनले यस्ता हर्कतमा संलग्न दोषीहरूलाई सडक विभागले गर्ने सामान्य जरिवाना मात्रै गरेर उन्मुक्ति दिन नहुने र उनीहरूमाथि कानून बमोजिम कडा भन्दा कडा कारबाही गरिनुपर्ने जोडदार माग गरे ।

कुनै पनि जिम्मेवार सरकारले त्रास, सन्त्रास र भयको वातावरण सिर्जना गरेर शासन सञ्चालन गर्न खोज्नु पूर्ण रूपमा गलत र निन्दनीय भएको उनको तर्क थियो । समाजमा डरको खेती गर्ने र यस्ता संदेहास्पद गतिविधिहरूको पर्दापछाडि बसेर योजना बनाउने मुख्य नाइकेहरूमाथि छिटोभन्दा छिटो कानूनी डण्डा चलाउनुपर्नेमा उनले जोड दिए ।

यस किसिमका गम्भीर प्रकृतिका घटनाहरू सार्वजनिक भइसक्दा समेत सत्तारूढ दलहरू केवल औपचारिक विज्ञप्ति जारी गरेर उम्किन खोजेको भन्दै उनले सत्तापक्षले मात्रै जिम्मेवारी पूरा गरेको बहाना बनाउनुको साटो सिंगो घटनाक्रमलाई गम्भीरताका साथ लिएर पीडित र आम नागरिकलाई न्यायको अनुभूति दिलाउन सरकारसँग आग्रह गरे ।

advertisement_1676551537.gif