राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ साउन १०, सुर्खेत । कर्णाली प्रदेश प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुख जोशीले मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री पदमा बहुमतको दाबी पेश गर्न प्रदेश सभा सदस्यहरूलाई साउन १२ गते साँझ ५ बजेसम्मको समय दिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री कडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम शनिबार साँझ ५ बजे लिखित राजीनामा दिएका थिए । प्रदेश प्रमुख जोशीले सोही मितिदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेका छन्।
राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन् ।
यसैबीच, प्रदेशमा नेकपा र एमालेबीच भएको सहकार्य सहमति अनुसार यहाँ नेकपाले सरकारको नेतृत्व गर्ने तयारी छ ।