शुक्रबार, १५ जेष्ठ, २०८३

मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् -राष्ट्रपति पौडेल

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् -राष्ट्रपति पौडेल

२०८३ जेष्ठ १५, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन् । 

कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । 

“किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गासिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ”, उनले भने । 

मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् भन्दै उनले कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभएर राष्ट्र निर्माणको प्रमुख आधार सिलाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । “यसका लागि श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्दछ, किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान बनेको छ”, राष्ट्रपति पौडेलले भने । 

उनले राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकाय एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औँल्याए ।

“युवा शक्तिको ऊर्जा, आधुनिक प्रविधिको प्रयोग र राज्यको दूरदर्शी नीतिसँगै कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिको मूल आधार बनाउनुपर्छ, यसका लागि कृषकको सम्मान, कृषि पेसाको संरक्षण तथा आधुनिकीकरण आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भने ।  

राष्ट्र निर्माणको आधार स्तम्भ तथा राष्ट्रको समृद्धिका संवाहक कृषकलाई सम्मान गर्न पाउँदा आफूलाई हर्ष अनुभूति भएको उनको भनाइ थियो ।  साथै, कृषकको मेहनत, सीप र पौरखले देश समृद्ध बन्छ, यो राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान कार्यक्रमले कृषि पेसालाई सम्मानित पेसाका रूपमा स्थापित गर्न योगदान पुर्‍याएको उनले बताए । 

“कृषिलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्नसके मात्र देश निर्माणको सपना साकार हुने मैले ठानेको छु”, उनले भने ।  उनले राजनीतिक परिवर्तनपछिको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि नै भएको र कृषि, जलस्रोत पर्यटन, पूर्वाधार, सूचना प्रविधि र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार रहेको बताए । 

राष्ट्रपति पौडेलले बदलिँदो परिवेशमा युवा जनशक्तिलाई नेपालमै रोजगारीको अवसर सृजना गर्ने क्षेत्र भनेकै कृषि भएको र कृषि नै उद्योगको कच्चा पदार्थको स्रोत भएकाले यो क्षेत्रको विकास गर्न राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्ने बताए । उनले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा उद्यम केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। 

advertisement_1676551694.gif