राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ जेष्ठ १७, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदनहरू मात्र नभई विभिन्न कालखण्डमा गठित सबै आयोगका प्रतिवेदनहरूको एकमुष्ट रूपमा अध्ययन गरिरहेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले विभिन्न समयमा भएका आन्दोलन, त्यस क्रममा भएका घटनाक्रम र सोसम्बन्धी छानबिन प्रतिवेदनहरूपारे सरकार निकै गम्भीर रहेको स्पष्ट पारेका हुन् ।
विशेष गरी गत भदौ २३ र २४ गते राजधानीमा भएको ‘जेन-जी आन्दोलन’ र त्यस क्रममा भएको विध्वंसका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन र कारबाहीको सिफारिसबारे सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।
सदनमा बोल्दै प्रधानमन्त्री शाहले भने, “मानव अधिकार आयोगको प्रतिवेदन मात्र नभएर भदौ २३ र २४ गतेको मात्र नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन् । दमन पनि भएका छन् । प्रतिवेदन पनि धेरै छन्, एउटा मात्र छैन । विभिन्न आयोगहरू पनि गठन भएका छन् । आजसम्म आयोगलाई बुझाएको प्रतिवेदन सरकारले एकमुष्ट रूपमा अध्ययन गर्छ र गर्नुपर्ने काम कारबाही त्यही अनुसार गर्छ ।”
प्रधानमन्त्री शाहले विगतका सरकारहरूले गठन गरेका तर थन्किएर बसेका विभिन्न छानबिन आयोगका प्रतिवेदनहरूलाई सरकारले गम्भीरतापूर्वक केलाउने प्रतिबद्धता जनाए । उनले प्रतिवेदनहरूको विस्तृत अध्ययनपछि आवश्यकताअनुसार कानुनी कारबाहीको प्रक्रियालाई अगाडि बढाइने समेत संसद्लाई जानकारी दिए ।
लामो समयपछि संसद्मा उपस्थित भई सांसदहरूको प्रश्नको सामना गरेका प्रधानमन्त्री शाहले देशमा सुशासन कायम गर्न र विगतका गल्तीहरू सच्याउन सरकारले सबै कालखण्डका प्रतिवेदनहरूको निष्पक्ष समीक्षा गर्ने बताएका छन् ।