शनिबार, ६ भाद्र, २०८३

महाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिल

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

महाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिल

२०८३ भदौ ०५ काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले तथाकथित विशेष महाधिवेशन पक्षले आयोजना गर्ने अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई अपिल गरेका छन् ।

संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले विशेष महाधिवेशन पक्षले आयोजना गर्न लागेको अधिवेशन तथा महाधिवेशनलाई अवैधानिक र विभाजनकारी गतिविधिको संज्ञा दिँदै त्यस्ता कार्यक्रम आयोजना नगर्न र नगराउनसमेत आग्रह गरेका हुन् ।

कांग्रेसको अधिकारितासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै कोइरालाले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको डिभिजन इजलासको निर्णयविरुद्ध पुनरावलोकनका लागि निवेदन दिएको र उक्त निवेदनमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट पुनरावलोकनको अनुमति प्राप्त भइसकेकाले मुद्दा हाल विचाराधीन रहेको उल्लेख गरेका छन् ।

यस्तो अवस्थामा विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् । विशेष महाधिवेशनका कारण केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित रहेको र थप अधिवेशन तथा महाधिवेशन गरिए पार्टीका सबै तहमा संरचनागत विभाजन सुरु हुने उनको दाबी छ ।

यसले आगामी स्थानीय तथा प्रदेश सभा सदस्य निर्वाचनमा समेत पार्टीलाई नकारात्मक असर पार्न सक्ने भन्दै कोइरालाले विभाजनकारी गतिविधि रोक्न सबै पक्षलाई आग्रह गरेका छन् । उनले सुदृढ, सबल र गतिशील कांग्रेस निर्माणका लागि पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

advertisement_1680627680.gif