राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २९ असार, २०८२
२९ असार २०८२, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुस डिल गरेको अडियो सार्वजनिक भएपछि पदमुक्त गर्ने तयारी सुरु भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किएर यसबारे निर्णय लिनेछन् ।
’ "प्रधानमन्त्री फर्किएपछि या त राजीनामा गराइनेछ,नभए बर्खास्तको निर्णय हुनेछ,"स्रोतको भनाइ छ । स्रोतका अनुसार गुप्तालाई राजीनामा दिन भनिनेछ र त्यो नै 'राजनीतिक रूपमा उपयुक्त' विकल्प मानिएको छ । सार्वजनिक अडियोमा मन्त्री गुप्ताले भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि बिचौलियासँग २५ लाख रुपैयाँ घुसको डिल गरेको सुनिन्छ ।
अर्का अडियोमा गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गरिएको छ । सो घुस रकम दुई झोलामा राखिएको, नोट नम्बर र बन्डल फोटोसहित अख्तियारमा उजुरीसमेत परेको छ ।
२०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकम समेत बुझेको अडिओ केहीदिनअघि मात्र सार्वजनिक भएको थियो ।
मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडिओ बाहिरिएको थियो ।
उनले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी समेत परेको छ ।