मंगलवार, २६ श्रावण, २०८३

मदिरा सेवन गरेको पुष्टि भए सांसद पद त्याग्ने ज्ञानेन्द्र शाहीको घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, २० घण्टा पहिले

मदिरा सेवन गरेको पुष्टि भए सांसद पद त्याग्ने ज्ञानेन्द्र शाहीको घोषणा

०८३ साउन २५ ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आफूले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले आफूविरुद्ध सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट गम्भीर र भ्रामक आरोपहरू प्रचार भइरहेको भन्दै त्यसको खण्डन गर्न संसद्मै यस्तो घोषणा गरेका हुन् ।

आफूमाथि मदिरा सेवन गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको तथा अश्लील भिडियोसँग जोडिएका आरोप लगाइएको उनले बताए । ती आरोपको तथ्य परीक्षण गर्न संसद्को स्वास्थ्य संयन्त्रअन्तर्गत चिकित्सकसहितको टोली बनाएर आफ्नो स्वास्थ्य परीक्षण गर्न उनले सभामुख र संसद्समक्ष आग्रह गरे ।

शाहीले सामाजिक सञ्जालमा भेटिएको अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएको दाबी गरे। उक्त भिडियो आफ्नो भएको प्रमाणित भए आफूले राजनीतिक जीवनबाटै संन्यास लिने घोषणा गरे ।

उनले उक्त भिडियो आफ्नो भए अनुसन्धानबाट प्रमाणित गर्न चुनौती दिँदै आफू राजनीतिक जीवनबाट संन्यास लिन तयार रहेको बताए । तर, भिडियो आफ्नो नभएको अवस्थामा गलत सूचना फैलाउने व्यक्तिमाथि प्रहरीले कारबाही गर्नुपर्ने उनको माग छ । यस विषयमा प्रहरीमा निवेदनसमेत दिइसकेको उनले जानकारी दिए ।

‘यदि त्यो भिडियो मेरो होइन, गलत सूचना दिइयो भने प्रहरीले कारबाही किन गरेको छैन ? सरकारले त्यस्ता व्यक्तिलाई कारबाही किन गरेको छैन ? यसको जवाफ माग्छु म। किनभने प्रहरीलाई निवेदन दिइसकेका छौँ,’ शाहीले भने।

उनले सामाजिक सञ्जालमा फैलाइएका आरोप र सामग्रीका कारण आफ्नो चरित्र तथा राजनीतिक प्रतिष्ठामाथि प्रश्न उठाइएको भन्दै त्यसको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरे ।

advertisement_1676553851.gif